कात्तिक १ गते २०८३ || October 17, 2026

अमेरिकाद्वारा हालसम्मकै ठूलो संख्यामा नेपाली डिपोर्ट


आइतबार, जेठ २५ २०८२११:०४

अमेरिकाद्वारा हालसम्मकै ठूलो संख्यामा नेपाली डिपोर्ट

अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठुलो संख्या नेपालीलाई निष्कासन (डिपोर्ट) गरेको छ।

अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका उनीहरू आज (आइतबार) अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्। यो अमेरिकाबाट एकैपटकमा डिपोर्ट गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली समूह हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले नेपालीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअघि नै जानकारी आएको पुष्टि गरे।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि कडा आप्रवासन नीति लिएसँगै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ह्वात्तै बढेको छ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्रै १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। जसमा जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना थिए।

यो संख्या विगतका वर्षहरूको तुलनामा निकै बढी हो। विभागको तथ्यांकअनुसार सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। डिपोर्ट हुनेहरूमा अधिकांश दलाललाई मोटो रकम बुझाएर अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्नेहरू रहेका छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend