काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालय सम्हाल्न पुगेका एकपछि अर्का सरकारी अधिकारीहरु विवादमा तानिन थालेका छन् ।
सहरी स्वास्थ्य प्रवद्धन केन्द्रमा कर्मचारी भर्ती गर्दा कार्यपालिकाको निर्णय कीर्ते विवादमा मुछिए र उनलाई बालेनले त्यहाँबाट लखेटे । रोजेर लगेका प्रशासकीय अधिकृत अधिकारीले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्ति गर्दा किर्ते गरेको भन्दै ०८० पुसमा बालेनले छानबिन समिति नै बनाएका थिए ।
मेयर बालेनले काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएर केही कर्मचारीलाई निलम्बनसमेत गरेका थिए।
उक्त प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई मेयर बालेनले त्यहीबेला हाजिर हुन रोक लगाइदिए । त्यसबेला १० औँ तहका कर्मचारी नूरनीधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र सचिवालयमा कार्यरत भगवती बिडारीलाई निलम्बन गरिदिए ।
त्यही प्रकरणमा बालेनले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई कारबाही गर्न सिफारिस गरे । त्यसअघि पनि अधिकारीलाई कारबाही गरी पक्राउका लागि मेयर बालेनले सिफारिस गरेका थिए । उनले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै अनुरोध गरेर अधिकारीलाई पक्राउ गर्न सिफारिस गरेका थिए । तर श्रेष्ठले अधिकारीलाई पक्राउ र कारबाहीमा चासो नदिएको उनको गुनासो छ।
कर्मचारी भर्नाका क्रममा अधिकारीले आफन्तका लागि किर्ते गरेको आरोप बालेनले लगाएका थिए । त्यस प्रकरणमा महानगरबाट अधिकारीको सरुवा गरिएको थियो। अधिकारीको सरुवाअघि उनलाई एक महिना बिदा बस्न लगाइएको थियो।