असोज ३० गते २०८३ || October 16, 2026

इजरायलस्थित नेपाली राजदूत राति नै तीनपटक छिरे बंकर


आइतबार, असार १ २०८२०७:०६

इजरायलस्थित नेपाली राजदूत राति नै तीनपटक छिरे बंकर

इजरायल र इरानबीच आक्रमण तथा प्रत्याक्रमण बढ्दै गएपछि त्यहाँ रहेका नेपाली आत्तिन थालेका छन् । 

इजरायलको एक अस्पतालमा इन्टर्न गरिरहेका नेपाली चिकित्सकले आइतबार तेल अविवस्थित नेपाली दूतावासलाई इमेल पठाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । 

“इजरायल र इरानबीचको सैन्य शत्रुता बढेका कारणले इजरायलको सुरक्षा अवस्था तीव्र रूपमा बिग्रिएको छ । हवाई आक्रमण र प्रतिआक्रमणपछि विमानस्थल र हवाइ उडान बन्द भएसँगै सुरक्षित यात्रा र निकासीको सम्भावना गम्भीर रूपमा सीमित गरेको छ,” ती चिकित्सकले नेपाली दूतावासलाई लेखेको इमेलमा उल्लेख छ । 

इजरायलको अवस्था अस्थिर र खतराको स्तर अत्यन्तै उच्च रहेको भनाई चिकित्सकको छ । यसले विद्यार्थी, कामदार र परिवारका सदस्यहरूलगायत नेपाली नागरिकहरूको जीवन, सुरक्षा र मानसिक स्वास्थ्यलाई गम्भीर खतरामा पारेको पनि ती चिकित्सकले जनाएका छन् । 

“विराटनगरको मेयरसा’ब इजरायल सरकारको पाहुना भएको हुँदा उहाँलाई इजरायल सरकारले सुरक्षित रुपमा नेपाल पठाउन खोजेको हामीले बुझेका छौं,” इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बाह्रखरीसँग भने । 

इजरायलले गत बिहीबार राति अचानक इरानमाथि हवाई आक्रमण गरेपछि दुवै देशबीच आक्रमण तथा प्रत्याक्रमण भइरहेको छ ।  अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार, दुवै देशतर्फ ठूलो जनधनको क्षति भएको छ । तर तनाव भने घट्न्को सट्टा झन् झन् बढ्दै गएको छ ।

“हालसम्म इजरायलमा रहनुभएका सबै नेपाली सुरक्षित हुनुहुन्छ,” राजदूत पण्डितले भने, “नेपाल र नेपालीका सम्बन्धमा कुनै अप्रिय समाचार सुन्नु परेको छैन ।” 

परराष्ट्र मन्त्रालयअनुसार, इजरायलमा ५ हजार ५ सय नेपाली रहेको जनाएको छ भने इरानमा १२ देखि १५ जना नेपाली । राजदूत पण्डित भने इजरायलमा पाँचहजारदेखि सात हजारसम्म नेपाली रहेको बताउँछन् । 

“एकजना नेपालीले मात्र उद्धारका लाग अनुरोध गर्नुभएको छ । अरु कसैले पनि यस्तो अनुरोध गरेका छैनन्,” राजदूत पण्डितले भने, “हालसम्म यहाँ रहेका नेपालीहरू हामी यहीँ बस्छौं, फर्काउनु पर्दैन भन्दै हुनुहुन्छ ।” 

राजदूत पण्डितका अनुसार दिनभर सुनसान हुनेगर्छ र राति भने बिस्फोटका आवाज सुनिने गर्छ । इरानले आक्रमण तीव्र बनाएपछि तेल अविवका सडक सुनसान भएका छन् । अत्यावश्यक सेवा वाहेकका कार्यालयहरू बन्द गरिएको छ । 

“आइतबार राति निकै बिस्फोट भएको सुनियो । म नै तीनपटक बंकरमा आउजाउ गरेँ,” राजदूत पण्डितले भने, “केही नेपाली उद्धार गर्नेबारे सोच्दै नसोच्नु भन्दैछन् । केहीले भने आफूहरू बसेको ठाउँमा बंकर नभएको र साइरन बजेपछि भर्‍याङ मुनि बस्नुपरेको बताइरहेका छन् ।”

‘बंकर छैन, भर्‍याङ मुनि बसेका छौं’ भन्नेको संख्या बढ्दै छ । 

राजदूत पण्डितका अनुसार, ठूलो आवाजमा साइरन बजेपछि त्यसको ९० सेकेण्ड अर्थात् डेढ मिनेटभित्र नजिकको बंकरमा छिरिसक्नु पर्छ । 

इजरायलको आकाशमा कुनै रकेट, मिसाइल प्रवेश गरेको भेउ पाउनेबित्तिक साइरन बज्ने गर्छ । 

बंकरमा छिरेपछि कम्तीमा १० मिनेट त्यहाँबाट बाहिर निस्कन पाइँदैन । इजरायली आकाशमा प्रवेश गरेको रकेट, मिसाइल आकाशमै निस्क्रिय वा बिस्फोट भई त्यसको टुक्राहरू पनि १० मिनेटमा भरिसक्ने विश्वासका साथ उक्त अवधिभरि बंकरबाट बाहिर निस्कन हुँदैन भन्ने मान्यता छ ।

तेल अविवस्थित नेपाली दूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ । 

दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत भनेको छ । “केही अप्ठेरो परे दूतावासलाई सम्पर्क गर्न भनेका छौँ,” राजदूत पण्डितले भने ।

इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अविवस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२५३५३६ ०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२ ५४ ५५८ २०७७ नम्बरको मोबाइल नम्बरमा सम्पर्क गर्न भनिएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend