असोज ३० गते २०८३ || October 16, 2026

इजरायल र इरानबिच युद्धविराम गराउन जि-७ शिखर सम्मेलन छोडेको होइन : ट्रम्प


मंगलबार, असार ३ २०८२१२:२५

इजरायल र इरानबिच युद्धविराम गराउन जि-७ शिखर सम्मेलन छोडेको होइन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जि–सेभेन शिखर सम्मेलनबाट समयअघि वाशिंगटन फर्कनुको कारण इजरायल र इरानबिचको युद्धविराम प्रयास नभएको स्पष्ट पारेका छन्। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो प्रस्थानलाई युद्धविरामसँग जोडेर गलत दावी गरेको आरोप लगाएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखे, 'गलत! म्याक्रोंलाई थाहा छैन म किन वाशिंगटन फर्किंदैछु। यो युद्धविरामसँग कुनै सम्बन्धमा छैन। यो त्योभन्दा धेरै ठूलो कुरा हो। जानाजानी होस् वा नहोस्, म्याक्रों सधैं गलत हुन्छन्। सम्पर्कमा रहनुहोस्।' उनले प्रस्थानको वास्तविक कारण भने खुलाएनन्।

सोमबार राति क्यानडाबाट फर्कने क्रममा ट्रम्पले म्याक्रोंप्रति आक्रोश व्यक्त गरेका हुन्। म्याक्रोंले ट्रम्पले इजरायल र इरानबिच युद्धविरामको प्रस्ताव राखेको र त्यसैले सम्मेलन छोडेको दावी गरेका थिए। क्यानडाको कानानस्किसमा भएको जि–सेभेन शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोंले भने, 'ट्रम्पले युद्धविरामको प्रस्ताव राखेका छन्। 

तर, ट्रम्पले म्याक्रोंको दावीलाई खण्डन गरे। उनले म्याक्रोंलाई 'प्रचार खोज्ने' नेता भन्दै आफ्नो प्रस्थानको कारण युद्धविरामसँग असम्बन्धित रहेको दोहोर्याए। जि–सेभेन शिखर सम्मेलनमा इजरायल–इरान द्वन्द्व मुख्य छलफलको विषय थियो। सम्मेलनले मध्यपूर्वमा तनाव कम गर्न र गाजामा युद्धविरामको आह्वान गर्दै संयुक्त वक्तव्य जारी गर्यो। तर, ट्रम्पले उक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरे, जसले उनको प्राथमिकता र रणनीतिमाथि प्रश्न उठाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend