असोज ३० गते २०८३ || October 16, 2026

फेसबुकको भिडियो सेक्सन रिब्रान्ड हुँदै, अब सबै भिडियो ‘रिल्स’ अन्तर्गत आउने


बुधबार, असार ४ २०८२११:२५

फेसबुकको भिडियो सेक्सन रिब्रान्ड हुँदै, अब सबै भिडियो ‘रिल्स’ अन्तर्गत  आउने

फेसबुकले पुनः एकपटक आफ्नो एपको भिडियो सेक्सनलाई नयाँ नाम दिँदैछ । पहिले ‘भिडियो’ र त्यसअघि ‘वाच’ भनेर चिनिएको ट्याबलाई अब ‘रिल्स’ नाम दिइनेछ । 

मेटाका अनुसार, अबदेखि फेसबुकमा अपलोड गरिने सबै प्रकारका भिडियोहरू — चाहे छोटा हुन् वा लामो, चाहे लाइभ हुन् वा साधारण पोस्ट — सबै ‘रिल्स’ को रूपमा गनिने छन्।

मेटाका अनुसार, यस परिवर्तनले प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरलाई सजिलो बनाउनेछ । पहिले प्रयोगकर्ताहरूले कुनै भिडियो रिल्स (छोटो, एपभरि देखिने भिडियोलाई जनाउने) हो वा भिडियो (लामो वा फ्रेन्ड्ससँग मात्रै साझा हुने) भनेर छुट्याउनुपर्ने हुन्थ्यो। अब भने यस्तो छुट्याउने आवश्यकता रहने छैन।

पहिले रिल्स भनेको एक मिनेटसम्मको छोटो भिडियो मात्र मानिन्थ्यो। तर अब मेटाले यस फर्म्याटलाई विस्तार गरेको छ। उदाहरणका लागि, इन्स्टाग्राममा रिल्सको समयसीमा तीन मिनेटसम्म पुगेको छ भने फेसबुकमा भने कुनै समय सीमा रहने छैन। मेटाका अनुसार, प्रयोगकर्ताले अब ३५ सेकेन्डको छोटो, भर्टिकल क्लिपदेखि २० मिनेटभन्दा लामो, होरिजोन्टल एपिसोडसम्म जुनसुकै भिडियो रिल्सको रूपमा साझा गर्न सक्नेछन्।

यद्यपि, यस परिवर्तनले केही भ्रम पैदा गर्न सक्ने देखिन्छ। किनभने धेरै प्रयोगकर्ताहरू रिल्स भन्नेबित्तिकै छोटा, भर्टिकल भिडियोलाई सम्झन्छन्। साथै, इन्स्टाग्राममा अझै पनि रिल्समा समय सीमा कायम रहेको छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend