संयुक्त अरब अमिरात यूएईको राजधानी अबु धाबीमा रहेको एक कम्पनीले एक दिन पनि काम नगरेको कर्मचारीलाई १ लाख १० हजार ४०० दिरहाम तिर्नुपरेको छ ।
ती कर्मचारीले कम्पनीबाट अफर लेटर पाएका थिए तर उनलाई काममा राखिएन । त्यसपछि उनले कम्पनीविरुद्ध मुद्दा दायर गर्दै ११ नोभेम्बर २०२४ देखि ७ अप्रिल २०२५ सम्मको तलब रोकिएकाले त्यो दिलाइपाउन मागदाबी गरेका थिए ।
नाम नखुलाइएका ती कर्मचारीले कम्पनीसँग निश्चित अवधिको सम्झौता गरेका थिए । सम्झौतामा उनको बेसिक तलब ७२ सय दिरहाम र कुल मासिक प्याकेज २४ हजार दिरहाम तोकिएको थियो ।
तर सम्झौतामा हस्ताक्षर गरेपछि पनि कम्पनीले उनलाई काम थाल्ने मिति सारेको सार्यै गर्यो ।यस अवधिमा आफू तलबबाट वञ्चित भएको भन्दै उनले कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।अदालतले सबै कागजात हेरेर कर्मचारीलाई काम गर्न ढिलाइ हुनुमा कम्पनी नै दोषी भएको निर्णय गरेको थियो।अहिलेसम्म नदिएको तलब जोड्दा कम्पनीले कर्मचारीलाई १ लाखभन्दा बढी तलब दिनुपर्ने फैसला गरेको हो ।