असोज ३० गते २०८३ || October 16, 2026

सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते


शनिबार, असार ७ २०८२१२:२३

सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते

सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तिन जना घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले गोरखापत्र अनलाइनलाई जानकारी दिए । झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताएका छन्  । 

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend