शनिबार एक महिनासम्म चलेको काठमाडौँ महानगरको सीप मेला २०८२ मा विद्यार्थीलाई तालिम दिने काम सम्पन्न भयो । दुई हजार ८२ जनालाई तालिम दिइएको उक्त कार्यक्रमको समापन समारोहका क्रममा धरहरामा लेजर प्रविधिको प्रयोग गरेर ‘सीप मेला, २०८२’ पनि लेखिएको थियो ।
त्यससँगै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त लेजर प्रविधिको बारेमा चासो समेत देखाएका छन् । धरहरामा लेजर प्रोजेक्सनको काम ‘ड्रोन हब नेपाल’ले गरेको हो । उक्त कम्पनीले सीप मेलामा ६० जना विद्यार्थीलाई ड्रोन प्रविधि सम्बन्धी तालिम समेत प्रदान गरेको थियो ।
मेलामा ड्रोन अपरेसन, म्यापिङ, र मर्मत सम्भार सम्बन्धी व्यावसायिक तालिम दिइएको कम्पनीका प्रबन्ध निर्देशक प्रविन भट्टराईले बताए । सीप मेलामा तालिम लिएका विद्यार्थीहरूलाई रोजगारीको समेत व्यवस्था गरिएको छ । ड्रोन कम्पनीहरूको संस्था ‘मानव रहित विमान सङ्घ’मा आबद्ध कम्पनीहरूले उनीहरूलाई रोजगारी दिने प्रतिबद्धता जनाएको भट्टराईले जानकारी दिए।