बैंकहरुले कर्जा लगानी गर्न नसकेपछि करिब ६ खर्ब रुपैयाँभन्दा धेरै रकम खिचेको राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।
बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ६३ दिनको लागि केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आर्थिक वर्षको सुरुबाट नै लगातार तरलता खिचिरहेको केन्द्रीय बैंकले आर्थिक वर्षको अन्त्यतिर आउँदा लामो अवधिको लागि तरलता खिच्न लागेको हो ।
पछिल्लो ४ पटकमध्ये ३ पटक ६३ दिनको र एकपटक ४२ दिनको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले आइतबार भने ६३ दिनकै लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
सामान्यतया २१ दिनको निक्षेप संकलन उपकरण बोलकबोल गरिरहेको केन्द्रीय बैंकले पछिल्लो समय भने ४२ दिन र ६३ दिनेको लागि निक्षेप संकलन उपकरण बोलकबोल गरिरहेको छ ।
सामान्य अवस्थामा एक साताको लागि तरलता प्रशोचन गर्ने औजार प्रयोग गर्ने गरेकामा लगातार अधिक तरलताको दबाब हुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न २१ दिनको लागि निक्षेप संकलन बोलकबोल गरिरहेको थियो ।
तर, २१ दिनको निक्षेप संकलन बोलकबोलले पनि तरलता व्यवस्थापन गर्न नसक्ने भएपछि केन्द्रीय बैंकले ४२ दिन र ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल सुरु गरेको हो ।
असार ११ मा ६३ दिनको ५० अर्ब रुपैयाँ र १५ असारमा ६३ दिनको ३० अर्ब रुपैयाँको, १८ असारमा पनि ६३ दिनको ६० अर्ब रूपैयाँको तथा २२ असारमा ४२ दिनको ४५ अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा औसत अन्तरबैंक ब्याजदर नीतिगत दरको करिब राख्ने लक्ष्य लिएको थियो । तर, लगातार अधिक तरलता हुँदा नियमित तरलता प्रशोचन गरे पनि उक्त लक्ष्य पूरा हुन सकेको छैन ।