चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ
अस्पतालका प्रयोगशाला प्रमुख डा. ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ । उनले भने, “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ । अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ ।”
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ । उनले भने, “यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ ।” यो सेवा सुरु भएपछि अब नेपालमै ‘टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ ।
उनका अनुसार यो मेसिन क्यान्सरको प्रकार पत्ता लगाउन प्रयोग गरिन्छ । विशेषगरी टिस्यु (मासुको नमूना) मा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग पुर्याउँछ । यो मेसिनले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ ।