यही साउन ११ गते बिहान दैलेखको छामघाटमा एक युवकको शव फेला पर्याे। अनुसन्धानका क्रममा उक्त शव दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौर घर भएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको भएको खुल्यो। जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले दुल्लु नगरपालिका–११ कयलकुनास्थित छामघाट खोला किनारमा सुरेन्द्रको शव फेला परेको जानकारी दिए।
सुरेन्द्रका आफन्तका अनुसार उनी दुई साता अघि मात्रै नेपाल आएका थिए। करिब ३३ महिना रोजगारिका लागि मलेसियामा बसेका सुरेन्द्र असार ३२ गते मात्रै नेपाल फर्किएका हुन्। सुरेन्द्रको शव जिल्ला अस्पताल दैलेखको शव गृहमा राखिएको छ। आफन्तले सुरेन्द्रको हत्या भएको र हत्यामा संलग्न रहेकालाई पक्राउ गरेपछि मात्रै पोस्टमार्टम गर्न दिने भन्दै शवको पोस्टमार्टमसमेत गर्न मानेका छैनन्।