असोज २९ गते २०८३ || October 15, 2026

सेयर नभएका डिम्याट खाता रोक्का हुने


बुधबार, साउन १४ २०८२१२:५४

सेयर नभएका डिम्याट खाता रोक्का हुने

अब सेयर नै नहुने डिम्याट खाता रोक्का हुने भएको छ। साथै पाँच वर्षदेखि नवीकरण नगरेका डिम्याट खातासमेत स्थगन गरिने भएको छ।

नेपाल धितोपत्र बोर्डले बुधबार जारी गरेको आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो।

बोर्डले नयाँ व्यवस्थाबारे सरोकारवाला निकाय सिडिएससीलाई निर्देशन पनि दिइसकेको छ। बोर्डले सिडिएससीलाई विद्यमान व्यवस्थामा परिमार्जन गर्न, पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्दात नभएका डिम्याट खाता बन्द गर्न सक्ने व्यवस्था गरेको छ।

खातामा पैसा अनिवार्य 

बोर्डले बैङ्क खातामा पैसा भए मात्र दोस्रो बजारबाट सेयर किन्न मिल्ने व्यवस्था गरेको छ । नीति तथा कार्यक्रममार्फत दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैङ्क खातामा रकम भए मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाएको हो ।

साधारण सेयरमा आवेदन दिनासाथ भेरिफाइ हुने व्यवस्था गरेको बोर्डले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। धितोपत्रको प्राथमिक निष्कासनमा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाले सिडिएस एन्ड क्लियरिङबाट एपिआई लिई आवेदकको आवेदन तत्कालै सिस्टम भेरिफिकेसन भई आवेदन रकम रोक्का हुने तथा सोही अनुसार धितोपत्र बाँडफाँटपछि फुकुवा हुने व्यवस्था गरिएको छ। गैरआवासीय नेपालीले जुनसुकै मुलुकमा बसेर पनि सेयर खरिद/बिक्री गर्न पाउने भएका छन्। 

धितोपत्र तथा वस्तु विनिमय बजारको विकास, विस्तार र सुधारका लागि नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै बोर्डले बजारमा हुने अवैध गतिविधि र दुरुपयोग नियन्त्रण गर्नका लागि प्रभावकारी नियमन प्रणाली लागु गरिने पनि जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend