मंगलबार ३ हजारको विन्दुमा उक्लिएको नेप्से त्यसपछिका दुई कारोबार दिन लगालग उच्च अंकले ओरालो लागेको छ । बुधबार करिब ४८ अंकले घटेको नेप्से विहीबार साढे ३१ अंकले ओरालो लागेको छ । पछिल्लो दुई दिनमा नेप्से करिब ८० अंकले ओरालो लागेको हो ।
अल्पकालिन लगानीकर्ताहरु प्रोफिट बुकिङमा सक्रिय हुनुका साथै ३ हजारको विन्दुलाई प्रतिरोध क्षेत्र भनि विश्लेषण भएकाले बिक्रीमा चाप पर्दा नेप्सेमा गिरावट आएको हो । प्राविधिक विश्लेषक तथा शेयर बजारका जानकारहरुले ३ हजारको विन्दुलाई प्रतिरोध क्षेत्र भनेर विश्लेषण गरेकाले पनि यसको मनोवैज्ञानिक प्रभाव लगानीकर्तामा परेको देखिन्छ ।
बजारले साउन महिनाभित्रै ३ हजार अंकको मनोवैज्ञानिक प्रतिरोध पार गर्ने अनुमान गरिएकोे छ । तर, यसका लागि अलिकति संघर्ष गर्नुपर्ने देखिएको छ । करेक्शनसँगै अगाडि बढ्दै गएको बजारको वृद्धि टिकाउ हुने र यसले नयाँ उचाई हासिल गर्न टेवा पुर्याउने जानकारहरुको धारणा छ ।
बिहीबार नेप्से परिसूचक ३१.५० अंक घटेर २९२२.६३ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । बुधबार १६ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।