असोज ३० गते २०८३ || October 16, 2026

नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर


सोमबार, भदौ १६ २०८२०४:४४

नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर

नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ। 

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दाबढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् । 

विदेश जाने बित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बजगाईँले बताए। साथै उनले एपबाटै सजिलै आफू अनुकुलको डाटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए।यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ। बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशका लागि मान्य हुन्छ। 

बैंकका ग्राहकले यसका लागि एपमार्फत १० मिनेटभित्रै अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यो अनुमति पत्र लिनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गर्नुपर्नेछ। यो माध्यमबाट अनुमति लिँदा परीक्षा दिन पर्दैन भने २४ घण्टामा विद्युतीय अनुमतिपत्र उपलब्ध हुन्छ। यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिने जनाइएको छ। 

निम्बज एक अग्रणी सुपरएप हो जसमा च्याट तथा भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटिटि मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा एकीकृत गरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend