प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन् ।
शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताए।
पार्टीमा कतिपय कुरा अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने बताए। उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमै छलफल केन्द्रित हुने पनि बताए।
प्रधानमन्त्री ओलीले भने, 'विधान महाधिवेशनमा बेला–बेला केही विषय अनावश्यक ढंगले अघि बढाइएका छन्। ती कुरा विधान महाधिवेशनसँग सम्बन्धित छैनन्। ती विषय अन्यत्रै कमिटीगत छलफलका विषय हुन्। ती स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल गर्ने विषय बन्छन्।