संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी अहिले तीव्र सैन्य गतिविधिका कारण बालबालिकाको लागि बस्न अयोग्य बनिरहेको छ।
यूनिसेफको मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय कार्यालयकी सञ्चार व्यवस्थापक टेस इन्ग्रामले यसबारेमा गाजाबाट भिडियो सन्देशमार्फत न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
उनले गाजा सिटीको अवस्था वर्णन गर्दै भने,“यो शहर अहिले डर, पलायन र अन्त्येष्टीको प्रतीक बनेको छ ।” उहाँका अनुसार, झण्डै १० लाख मानिस अझै पनि गाजा सिटीमा बसोबास गरिरहेका छन् र यदि सैन्य आक्रमण अझ तीव्र बनाइयो भने त्यो एक गम्भीर मानवीय विपत्तिमा परिणत हुन सक्छ ।
इन्ग्रामले थपे,“धेरै मानिसहरू पहिले नै आफ्नो घर छोडेर भागिसकेका थिए, तर अहिले फेरि दोस्रोपटक विस्थापन भोगिरहेका छन् । मैले त्यस्ता बालबालिका भेटेँ, जो युद्धको अफरातफरीमा आफ्ना आमाबुबाबाट छुट्टिएका थिए । कतिपय आमाहरूले आफ्ना सन्तानलाई भोककै कारण गुमाइसकेका छन् भने अरूलाई अझै पनि आफ्ना बालबालिकाको ज्यान जाने डर सताइरहेको छ ।
उनका अनुसार, यूनिसेफद्वारा सञ्चालनमा रहेका ९२ पोषण उपचार केन्द्रहरूमध्ये हाल ४४ मात्र क्रियाशील रहेका छन्, जसले गर्दा हजारौं कुपोषित बालबालिका अत्यावश्यक उपचार सेवाबाट वञ्चित भएका छन् ।