सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको विधान महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिक सक्रियतामा रोकेको समयमा साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको फरक बयानबाजी सतहमा आएको छ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधानले कुनै रोकटोक नगरेको बताए।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई संविधानले नरोकेको टिप्पणी गर्दै भने,‘राजनीतिक दलमा आबद्ध हुन संविधानले रोकेको छैन। अस्वभाविक होइन।’
‘संविधानमा कतै रोकिएको छैन। पाइन्न भनेको पनि छैन। त्यसैले संविधानको औचित्य सकिएको भन्ने प्रश्न उठ्दैन’, सभापति देउवाले भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाउने वा नयाँ मन्त्री पठाउने विषयमा कांग्रेसमा कुनै छलफल नभएको देउवाले प्रस्ट पारे।