नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका दोस्रो तहका नेताहरूले देशमा विद्यमान विषम परिस्थितिलाई समाधान गर्न, शान्ति सुरक्षा कायम राख्न र समाधान प्रक्रियामा सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै विगतमा जनतामा उत्पन्न निराशालाई समयमै समाधान गर्न असफल रहँदा र पार्टीभित्र लोकतान्त्रिक मूल्य स्थापना गर्न नसक्दा आफ्नो कमजोरी स्वीकार गर्दै क्षमायाचना गरेका छन् ।
संयुक्त वक्तव्यमा वर्तमान राजनीतिक संकटको समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउँदै भनिएको छ, ‘राष्ट्रमा उत्पन्न असामान्य परिस्थितिको अन्त्य गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन जेनजीको भावना अनुसार संविधानसम्मत ढंगले अन्तरिम सरकार गठन गर्न अनुरोध गर्दछौँ ।’
वक्तव्यमा आन्दोलनको क्रममा भएको जनधन र सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, व्यक्तिकेन्द्रित हमलाहरूको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन एक शक्तिशाली आयोग गठन गर्न माग गरिएको छ।
साथै, भ्रष्टाचार अन्त्यका लागि राज्यको उच्च तहमा रहेका सबैको सम्पत्ति छानबिन गरी कारबाही गर्न उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरिएको छ ।