सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रनिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते मिति तय गरेसँगै नेकपा (माओवादी केन्द्र) चुनावी तयारीमा जुटिसकेको छ ।
अन्तरिम सरकारले प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २१ गतेको मिति तोकेसँगै माओवादी केन्द्र पनि तयारीमा जुटेको हो । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “हामी सम्पूर्ण रुपले प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटिसकेका छौं । हाम्रो संगठन सुदृढदेखि कमिटी गठनलगायत कामहरु अब धमाधम अघि बढ्नेछ ।”
माओवादीले त्यसका बारेमा छलफल गर्न आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय कमिटीको बैठक बोलाइएको माओवादीले जनाएको छ । चुनावको तयारीस्वरुप नै नेकपा (माओवादी केन्द्र) ले संगठन विस्तारलाई पनि अघि बढाउने जनाएको छ । पार्टी प्रवक्ता सापकोटाले भने, “गाउ,ँ टोल, प्रदेशसँग रहेका संगठन पुनर्गठन गर्दै अब हामी संगठन विस्तारमा लाग्नेछौं ।”
उनले महाधिवेशनको तयारीसँगै चुनावको तयारी पनि अघि बढाउने बताए । प्रवक्ता सापकोटाका अनुसार महाधिवेशन तयारीकै कार्यक्रम चुनाव लक्षित हुनेछन् । जेन–जी आन्दोलनले पार्टीको नेतृत्व परिवर्तनमा थप दबाब सिर्जना गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व फेर्ने संकेत गरीसकेका छन् ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता सापकोटाले मंसिरको अन्तिम सातामा हुने महाधिवेशनको तयारीलाई नै निर्वाचनको तयारीका रुपमा अघि बढाउने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशनका लागि आफ्नै संयोजकत्वमा आयोजक समिति बनाउने प्रस्ताव गरेपछि केही नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले लामो समयदेखि कार्यशैलीमा प्रश्न उठाउँदै नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति भंग गरेर महाधिवेशनका लागि आयोजक समिति गठन गर्ने र त्यसको संयोजन आफूले गर्ने प्रस्ताव पदाधिकारी बैठकमा अघि सारेपछि फेरि पनि उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई हटाउने कसरत गरेका छन् ।
उनले प्रस्ताव राख्दै भनेका छन्, “पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडी बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरुले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ । महाधिवशेनसम्म पार्टीलाई संयोजन गर्ने गरी वरिष्ठ नेतालाई कार्यभाग दिउँ ।”
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा सहभागी एकजना पदाधिकारीले भने, “उपमहासचिवको प्रस्ताव सुन्दा नारायणकाजी श्रेष्ठलाई अघि सार्न खोजेको देखियो । तर नेतृत्व परिवर्तनको विषय सहज छैन । विचार, प्रक्रिया, विधि सबै अवलम्बन गरेर मात्र नेतृत्व परिवर्तनको कुरा आउँछ । पार्टी एकढिक्का बनाएर अघि बढ्ने शैली अगाडि आउन खोज्नेमा नेतामा हुनुपर्छ ।”