बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थपिने क्रम अझै रोकिएको छैन। यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज मंगलबार पनि वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । राष्ट्र बैंकले आइतबार र बुधबार नियमित रुपमा पैसा झिक्दै आएको छ।
गत साता दसैं बिदा परेकाले राष्ट्र बैंकले पैसा निकाल्न पाएको थिएन। दसैं बिदा पछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भए पनि उल्लिखित पैसा निकाल्न लागेको हो।
बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।