बर्दियामा एक बालिकाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ।
गेरुवा गाउँपालिका–५ झबही गाउँकी १० वर्षीया एन्जल भनिने भारती देउवाको शव गुडीखोलाको किनारामा गाडिएको अवस्थामा फेला परेको हो।
एन्जलको शव घरदेखि झन्डै २ किलोमिटर उत्तरमा खोजी गर्ने क्रममा सोमबार दिउँसो फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए।
एन्जल असोज १७ गते दिउँसो गणेशपुरस्थित आफन्तको घरमा बिहेमा सहभागी हुन गएकी थिइन्। त्यहाँ पुगेपछि उनी पुनः कपडा फेरेर आउँछु भनेर घरतर्फै फर्केकी एक स्थानीयले बताए।
जिन्स लगाएर गएकाले त्यहाँ पुगेपछि आमालाई फोन गरेर कपडा फेर्न आउँछु भनेर साइकलमा फर्किएकी उनी त्यही दिनदेखि बेपत्ता भएकी थिइन्।
बेलुकीसम्म घर नफर्किएपछि एन्जलका बुवा प्रकाश देउवाले राति सवा ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए।
डिएसपी बोहराका अनुसार खोजी गर्ने क्रममा असोज १८ गते दिउँसो गेरुवा गाउँपालिका–५ मुलपानी गुडीखोला क्षेत्रमा एन्जलले प्रयोग गरेको साइकल फेला परेको थियो।