असोज ३० गते २०८३ || October 16, 2026

मृत्यू भएका मान्छे राखिएकै रात चिहान खोतलिएपछि इलामको रोङका नागरिकमा त्रास


शनिबार, कात्तिक १ २०८२११:२७

मृत्यू भएका मान्छे राखिएकै रात चिहान खोतलिएपछि इलामको रोङका नागरिकमा त्रास

मृत्यू भएका मान्छे राखिएकै रात चिहान खोतलिएपछि इलामको रोङका नागरिकमा त्रास छाएको छ । जिल्लाको रोङ गाउँपालिका २ लामकटेरीमा बिहीबार राति स्थानीय राम राईको शव खोतलिएको हो ।

वडाध्यक्ष चन्द्रशेखर घिमिरेका अनुसार त्यहाँका बालकुमार राईका २२ वर्षीय छोरा राम राईको बिहीबार निधन भएपछि किराँत संस्कृति अनुसार नजिकैको जग्गामा चिहान खनेर शव गाडिएको थियो ।

करिब ६ फिट गहिरो खाल्डोमा शव व्यवस्थापन गर्न लगाइएका ढुङ्गा र माटो झिकेर खाल्डो खोलिएको अवस्थामा भेटिएपछि स्थानीयमा त्रास छाएको हो ।

शवमाथि राखिएको ढुङ्गा माटो खोतलेर वरिपरि राखिएको अवस्थामा भेटिएको स्थानीय शर्ण राइले बताए। ‘ राईका अनुसार बिहान पिण्ड दिन चिहानमा पुग्दा, शव माथिको ढुङ्गा माटो झिकेर खाल्डो बनाइएको देख्यौं, यस्तो देख्चा अचम्मसँगै डर पनि लाग्यो,’ उनले भने।

रोङमा मान्छे गाडेकै रात यसरी चिहान खोतलिएको यो नै पहिलो भएको स्थानीय बताउँछन्। अघिल्लो दिन मान्छे गाडेको चिहान भोलिपल्ट खोतलेको अवस्थामा भेटिएपछि भेला भएका स्थानीय, जनप्रतिनिधि र प्रहरीले मुचुल्का खडा गरेका थिए।

ढुङ्गा माटो सबै झिके पनि बाकस भित्रको शव भने जस्ताको तस्तै भेटिएको वडाध्यक्ष घिमिरेले बताए । स्थानीय शैलेस घिमिरेका अनुसार अघिल्लो दिन मृत्यू भएका २२ वर्षीय राईमा अपाङ्गता थियो । खोतलिएको चिहानको खाल्डो शुक्रबार पुनः पुरिएको थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend