एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार एक जना हाकिमसा'पको निर्देशनमा चलिरहेको बताएका छन्। आइतबार सम्पादकहरूसँगको संवादका क्रममा ओलीले हाकिमले निर्देशन दिएका आधारमा सरकार चलिरहेको बताए।
आफ्नो भनाइ राख्ने क्रममा ओलीले सुरक्षा कटाैती गरेको विषयमा पनि हाकिमसा'पको निर्देशनले काम गरेको आशय व्यक्त गरे। 'मलाई मार्छु भनिरहेका छन् सरकार सुरक्षा कटाैती गरिरहेको छ । हाकिमसा'पको सुरक्षा बढाइरहेको छ। वडाध्यक्षको सुरक्षा बढाइरहेको छ,' ओलीले भने।
ओलीले हाकिम भनेर काठमाडाैंका मेयर बालेन शाहलाई इंगित गरेको अनुमान गरिएको छ। बालेनले जेन–जी आन्दोलनकारीलाई सेनासँग वार्ता गर्न तयार रहनु भन्दै त्यसअघि संसद विघटन भएको हुनुपर्ने बताएका थिए। त्यसपछि उनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको बताइन्छ।