असोज ३० गते २०८३ || October 16, 2026

आन्दोलन स्थगित गरी सरकारसँग संवाद गर्ने, दुर्गा प्रसाईंको निर्णय


सोमबार, कात्तिक १० २०८२०४:१५

आन्दोलन स्थगित गरी सरकारसँग संवाद गर्ने, दुर्गा प्रसाईंको निर्णय

राजनीतिक अस्थिरता, असन्तोष र अविश्वासका बीचमा पनि कहिलेकाहीँ निर्णयको एउटा कदमले परिस्थितिलाई नयाँ मोड दिन सक्छ। 

हालै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले लिएको निर्णय त्यसको ज्वलन्त उदाहरण बनेको छ। आन्दोलनका तयारीमा रहेका प्रसाईंले आइतबार सरकारसँग वार्तामा बस्न तयार रहेको पत्र बुझाएर परिस्थितिलाई सहमतिको दिशामा लैजाने संकेत दिएका छन्। उनको यस कदमले देशको शान्ति, स्थायित्व र सहअस्तित्वको दिशामा आशाको किरण जगाएको छ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि प्रसाईंले गृह मन्त्रालयसँग वार्तामा बस्न तयार रहेको पत्र बुझाएका हुन्। 

यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनरत विभिन्न समूहहरूलाई संवादबाटै समाधान खोज्न आग्रह गरेका थिए । प्रसाईंको सहमतिको यो संकेतले सरकार र आन्दोलनकारीबीचको दूरी घटाउने सम्भावना बढाएको छ ।

गत केही महिनादेखि प्रसाईंले भड्काउपूर्ण अभिव्यक्तिहरू दिँदै आएका थिए । सामाजिक सञ्जालमा उनका पोस्टहरूले तातो बहस जन्माइरहेका थिए । तर, आइतबारको निर्णयले उनी अब सडक संघर्ष होइन, संवादमार्गमा उभिन तयार भएको सन्देश दिएको छ । यो केवल एक रणनीतिक कदम होइन भने प्रसाईँले राजनीतिक परिपक्वताको संकेत गरेको मान्नुपर्छ । 

किनभने मुलुकले अहिले अराजकता होइन, सहमति र सद्भाव खोजेको छ ।नेपालले हालै भोगेको जेनजी आन्दोलनले देशलाई गहिरो घाउ दिएको छ । त्यस आन्दोलनका क्रममा लुटिएका हतियार अझै बाहिरै छन् । यस्तो संवेदनशील अवस्थामा पुनः आन्दोलनको नारा दिनु देशलाई जोखिममा धकेल्ने काम हुने थियो। 

प्रसाईंले यही यथार्थलाई आत्मसात् गर्दै आन्दोलन स्थगित गर्ने निर्णय गरेका हुन्। किनभने आन्दोलन सुरु भएपछि त्यसमा जो–कसैको घुसपैठ हुन सक्छ। कुनै पनि हिंसात्मक घटना देशलाई फेरि संकटमा धकेल्न सक्छ।

राजनीतिमा कहिले संवाद, कहिले प्रतिरोध भइरहेको हुन्छ। तर वर्तमान सन्दर्भमा संवाद नै विवेकपूर्ण विकल्प हो । प्रसाईंले वार्ताको बाटो रोजेर आफ्नो र देश दुवैको सुरक्षा सुनिश्चित गरेका छन्। यो निर्णयले उनलाई जिम्मेवार, राष्ट्रप्रेमी र व्यावहारिक नेताको रूपमा स्थापित गर्नेछ।

सरकारले यसअघि नै गम्भीरताका साथ वार्ताका लागि आह्वान गरिसकेको छ। सरकारले प्रसाईंलगायत सडकमा सबै समूहका जायज मागहरू सुन्ने र समाधान खोज्ने तत्परता प्रकट गरिसकेको छ। यसले सम्पूर्ण समाजमा सहमतिको नयाँ संस्कार स्थापनाको सुरुवात गर्न सक्नेछ।

मुलुक अहिले चुनावी तयारीतर्फ उन्मुख छ। जनताको भरोसा जित्ने र लोकतान्त्रिक प्रक्रियाबाट शक्ति प्राप्त गर्ने बाटो खुला छ। त्यसैले प्रसाईंले आन्दोलन होइन,जनादेशको बाटो रोजे भने त्यो उनको राजनीतिक भविष्यका लागि मात्र होइन, राष्ट्रको स्थायित्वका लागि पनि हितकर हुनेछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend