असोज ३० गते २०८३ || October 16, 2026

स्पेनका प्रान्तीय प्रमुखले दिए राजीनामा


मंगलबार, कात्तिक १८ २०८२०१:२४

स्पेनका प्रान्तीय प्रमुखले दिए राजीनामा

दुई सय ३० भन्दा बढी मानिसको ज्यान लिने गरी अचानक आएको बाढीको बेला एक पत्रकारसँग लामो समयसम्म खाना खाएर बसेका स्पेनका प्रान्तीय सरकार प्रमुख कार्लोस माजोनले सोमबार राजीनामा दिएका छन्।

एक वर्षअघि अक्टोबर २९ मा भ्यालेन्सिया प्रान्तमा अचानक आएको सो बाढीको बेला माजोन पत्रकार मरिबेल भिलाप्लानासँग एक रेस्टुराँमा झण्डै चार घण्टा खाना खाएर बसेका थिए।

भिलाप्लाना सो विपदका बेला सरकारको सुस्त प्रतिक्रियाको अनुसन्धान गरिरहेका न्यायाधीशसमक्ष बयानका लागि उपस्थित हुनुअघि माजोनले राजीनामा दिएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

केही दिनअघि एक सरकारी कार्यक्रममा बाढी पीडितका आफन्तहरूले हत्यारा भन्दै माजोनलाई गाली पनि गरेका थिए।

सो बाढी आएदेखि नै धेरैले माजोनको राजीनामा माग गरिरहेका थिए। तर उनले एक वर्षपछि मात्रै राजीनामा दिएका छन्।


मुसलधारे वर्षापछि अचानक आएको बाढीको बेला माजोनसँग आफूले खाना खाइरहेको खुलासा भएपछि आफूलाई लगातार अपमान र उपहास गरिएको भिलाप्लानाले बताउँदै आएकी थिइन्।

सेप्टेम्बरमा भिलाप्लानाले एक खुलापत्र लेख्दै खानाको समयमा माजोनलाई धेरै फोन आउन थालेको तर त्यसबारे आफूलाई थाहा नभएको र माजोनले पनि आफूसँग कुनै चिन्ता व्यक्त नगरेको बताएकी थिइन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend