साउदी अरबमा आज बिहानै एउटा बस तेल बोकेको ट्यांकरसँग ठोक्किँदा महिला र बालबालिका सहित ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । ती तीर्थयात्रीहरू मुख्यतः हैदराबाद क्षेत्रका थिए । तीर्थयात्रीहरू हज सिजनबाहिर गरिने धार्मिक यात्रा उमराहका लागि साउदी अरब पुगेका थिए ।मक्काबाट मदिना जाँदै गर्दा राति करिब १ः३० बजे दुर्घटना भएको हो ।
भारतका विदेशमन्त्री एस जयशंकरले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै साउदी अरबस्थित भारतीय अधिकारीहरूले पीडित भारतीय नागरिक तथा परिवारलाई सहयोग गरिरहेको भनेका छन् ।बस र इन्धन बोकेको ट्यांकर एकआपसमा ठोक्किँदा ठूलो आगलागी भएको छ । उद्धार टोलीहरूले घटनास्थललाई अत्यन्त विनाशकारी भनेर वर्णन गरेका छन्। बस पूरै जलेर नष्ट भएकाले पीडितहरूको पहिचान अत्यन्त चुनौतीपूर्ण बनेको छ ।