दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुर राधेराधेस्थित घरबाट पक्राउ गरेको थियो। दुर्गा प्रसाईंलाई चार दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। अदालतले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको हो ।
“सबैलाई अभिव्यक्ति स्वतन्त्रतामा विरोध गर्न पाइन्छ। उहाँले पछिल्ला दिनमा दिएका अभिव्यक्ति र क्रियाकलाप सार्वजनिक शान्ति भंग हुने, मुठभेड निम्त्याउने खालका छन्। त्यसैले पक्राउ गरी अनुसन्धान थालेका छौं,” भट्टराईले भनेका छन् ।प्रसाईं नागरिक बचाउ दलका संरक्षक हुन्। प्रसाईंका अभिव्यक्ति र क्रियाकलापबारे सोमबार राति जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली छलफलमा बसेका थिए । छलफलपछि सादा पोसाकमा खटिएको प्रहरी टोली प्रसाईंको घरमा पुगेका थिए।