नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिएपछि उनले पत्रकार सम्मेलनमार्फत बल प्रयोगसम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको स्पष्ट पारेका छन् ।
बल प्रयोग गर्ने वा नगर्ने निर्णय कानुनअनुसार तत्कालीन अवस्थामा सुरक्षामा खटिएका सुरक्षकर्मीहरुको जिम्मेवारी हुने उनको भनाइ छ । “मन्त्री वा प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश दिने कुनै कानुनी व्यवस्था नभएको ,” उनले स्पष्ट पारे । पूर्वमन्त्री लेखकले उक्त आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोगसमक्ष लिखित रूपमा आफ्नो धारणा र विवरणसमेत प्रस्तुत गरिसकेको जानकारी दिएका छन् ।