जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित आयोगले टीओबी नामक समूहविरुद्ध कानुनी कारबाही गर्न सिफारिस गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको ठहर गर्दै उक्त समूहलाई फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही गर्न सुझाव दिएको हो।
आयोगका अनुसार टीओबी समूह चाबाहिलस्थित ओम अस्पताल नजिकको करिडोर प्रयोग गर्दै बिजुली बजार क्षेत्रतर्फ पुगेको र त्यही क्रममा प्रदर्शनलाई उग्र बनाउने प्रयास भएको देखिएको छ।
प्रतिवेदन सार्वजनिक हुनुअघि नै प्रहरीले यस समूहविरुद्ध अनुसन्धान अगाडि बढाइसकेको थियो। काठमाडौं प्रहरीले समूहका प्रमुख मानिएका तेन्जिन दावा पक्राउ गरी कानुनी प्रक्रियामा ल्याएको जानकारी दिइएको छ।
आयोगले आफ्नो प्रतिवेदन फागुन २४ गते सरकारलाई बुझाएको थियो। यद्यपि, सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा यसको विवरण बाहिरिएको जनाइएको छ।