असोज ३० गते २०८३ || October 16, 2026

बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सास्ती खेप्दै स्थानीय


सोमबार, चैत ७ २०७८०८:२७

बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सास्ती खेप्दै स्थानीय

नवलपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो सडक पुनर्निर्माणको प्रगति भने निराशाजनक छ ।

बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीणक्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । सडक विस्तारको ९० प्रतिशतभन्दा बढी काम सक्नुपर्ने समयमा बल्ल करीब १० प्रतिशत काम सकिएको छ ।

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले दुवै खण्डको ठेक्का पाएर काम अगाडि बढाइरहेको छ ।

सडक विस्तार सुरु भएदेखि नै कामले गति लिन सकेको छैन । कछुवाका गतिमा अगाडि बढेको सडक विस्तारको काम सुरु भएदेखि यात्रुले सास्ती खेप्दै आइरहेका छन् । सडक विस्तारको काम भएसँगै गैँडाकोट क्षेत्रमा साना पक्की पुल (माइनर ब्रिज) निर्माणका लागि सडक डाइभर्सन गर्ने काम सुरु भएको थियो । सडक विस्तारको काम सुरु भएपछि बिग्रिएको –भत्किएको बाटो मर्मतको कामसमेत ठप्प भयो ।

सडक भत्किएका ठाउँमा मर्मत नहुँदा यात्रु मात्रै नभएर स्थानीयवासीले सास्ती खेप्दै आएका छन् । यस खण्डमा दैनिक सवारीसाधन चलाउने चालक तथा साना व्यवसायी बाटाको कारण दिक्क भएको स्थानीय व्यवसायी विवेक थापाले बताउनुभयो । नारायणगढबाट अटोमा सामान ल्याएर मुकुन्दपुरमा व्यवसाय गर्दै आउनुभएका उहाँले सो सडकका कारण दैनिक आवतजावतमा निकै समस्या परेको गुनासो गर्नुभयो । “यो सडक दैनिक हिँड्नुपर्छ, सामानसहितको अटो डाइभर्सनमा बिग्रिँदा समस्या हुने गरेको छ”, थापाले भन्नुभयो, “सडकको दुरवस्थाका कारण मेरो अटो पटकपटक बिग्रिन थालेको छ ।”

बुटवल– नारायणगढ सडक खण्डको वनक्षेत्रमा सबैभन्दा बढी समस्या भएको उहाँको भनाइ छ । खाल्डाखुल्डीमा सवारीसाधन गुडाउँदा चाँडै बिग्रिने तथा सवारीसाधनमा समस्या आइरहने थापाले बताउनुभयो । कामका लागि मोटरसाइकलमा यात्रा गर्न नै अप्ठ्यारो हुने गरेको स्थानीयवासी शङ्कर आचार्यले गुनासो गर्नुभयो । “नजिकै नारायणगढ बजार भएका कारण किनमेलमा निस्कन तथा कार्यालय जानका लागि सधैँ मोटरसाइकल प्रयोग गर्ने गरेको छु”, आचार्यले भन्नुभयो, “धुलाका कारण मोटरसाइकलमा यात्रा गर्नै समस्या हुने गरेको छ ।” विस्तारको क्रममा रहेको सडक चाँडै निर्माण भएर सहज यात्रा गर्न पाउने दिन आशामा आफूहरुको दिन बित्ने गरेको आचार्यले बताउनुभयो ।

“यो सडक भएर दैनिक हिँड्नुपर्छ, जङ्गल क्षेत्रमा त बिग्रिएको सडकमा पानी हाल्दैनन्”, आचार्यले भन्नुभयो, “जसका कारण धुलो उडेर मोटरसाइकल चलाउनै समस्या हुन्छ भने शरीरमा लगाइएको लुगा पनि मैलो हुन्छ ।” निर्माणाधीन सडक भएर यात्रा गर्ने यात्रका साथै स्थानीयवासी धुवाँ र धुलोका कारण आजित भएका छन् । सडक विस्तारका क्रममा केही स्थानमा पानी हालेर धुलो उड्न नदिइने गरेको भए पनि सबै ठाउँमा पानी नहाल्दा समस्या हुँदै आएको छ ।


  • सम्बन्धित विषय:

  • # बुटवल–नारायणगढ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend