असोज ३० गते २०८३ || October 16, 2026

क्रसर बन्द भएपछि देशभरका ८० प्रतिशत निर्माण कार्य प्रभावित


पिपल अनलाइन
मंगलबार, माघ ३ २०७९०७:१४

क्रसर बन्द भएपछि देशभरका ८० प्रतिशत निर्माण कार्य प्रभावित

काठमाण्डौँ - बालुवा र गिटीको अभावमा देशभरका ८० प्रतिशत निर्माण कार्य प्रभावित भएका छन् ।  गृह मन्त्रालयले २० पुसमा अवैध क्रसर उद्योग बन्द गर्ने निर्देशन दिएपछि देशभरका ६ सय ८८ क्रसर उद्योग बन्द गरिएका छन् । फलस्वरूप थप बालुवा र गिट्टी उत्पादन देशका ठूला निर्माण आयोजनाहरू पनि प्रभावित भएका हुन् ।   

९ चैत ०७७ मा सर्वोच्चले मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न आदेश दिएको थियो । तर, व्यवसायीले स्थानीय प्रशासनलाई प्रभावित पारेर निरन्तर क्रसर उद्योग चलाउँदै आएका थिए । अहिले सरकारले सोही आदेशलाई आधार मानेर अवैध क्रसर उद्योग बन्द गराउन थालेको हो । तर, त्यसको नकारात्मक असर निर्माण क्षेत्रमा देखिन थालेको नेपाल निर्माण व्यवसायी संघले जनाएको छ । 

बालुवा अभावकै कारण राजधानीसँग जोडिने नेपालकै पहिलो आधुनिक टनेल अर्थात् नागढुंगा सुरुङमार्गको निर्माण कार्य सोमबारदेखि ठप्प भएको छ । यसैगरी, काठमाडौं उपत्यकाभित्रको सडक, नौबिसे–मुग्लिन सडक र मुड्खु–तिनपिप्ले सडकखण्डको विस्तार तथा कालोपत्रे काम पनि रोकिएको सडक विभागको भनाइ छ । विशेष गरी धादिङ जिल्लाका महेशखोला, त्रिशूली नदीलगायतका नदीबाट निकालिने बालुवा तथा गिट्टीमा निर्भर आयोजनाको निर्माण कार्य बढी प्रभावित भएको बताइएको छ । 

सडक विभागसँग ठेक्का सम्झौता गरेर जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पुस ०७७ देखि सुरुङ बनाउँदै आएको छ । हालसम्म सो आयोजनाको ४८ प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माणका लागि आवश्यक गिट्टीका लागि सुरुङ खन्दा निस्कने ढुंगामार्फत नै उत्पादन हँुदै आएको छ । तर, बालुवा भने बाहिरी क्रसरबाट नै खरिद गर्नुपर्छ । क्रसर उद्योगहरू बन्द भएर बालुवा नभएपछि सोमबारदेखि नागढुंगा सुरुङमार्गको निर्माण रोकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । नयाँ पत्रिकाबाट साभार गरिएको हो । 


  • सम्बन्धित विषय:

  • # क्रसर बन्द भएपछि देशभरका ८० प्रतिशत निर्माण कार्य प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend