काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध भएको बताएको छ । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री खाणले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भनाइ राखेको हो।
गृहमन्त्री खाणले मानवताका लागि योग भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मनमुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए ।
साथै उनले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गरे । गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी वहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहने विचार व्यक्त गरे।