असोज ३० गते २०८३ || October 16, 2026

आँखा पाक्ने रोगको कारणले प्राय: सबै पालिकाका विद्यालय बन्द


मंगलबार, साउन २३ २०८००३:५२

आँखा पाक्ने रोगको  कारणले  प्राय: सबै पालिकाका विद्यालय बन्द

नवलपुरमा आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । जिल्लाका सबै पालिकाले आजदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

मध्येविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार अस्पतालको आँखा वार्डको ओपिडीमा आँखा उपचारको लागि दैनिक एक सय देखि दुई सयसम्म बिरामी आउने गरेकोमा ९० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को सङ्क्रमण देखिएको हो ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको सङ्क्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय सङ्क्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिएको चिकित्सकहरू बताउँछन् ।

यो रोग लाग्दा सङ्क्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा सङ्क्रमण सर्छ । त्यसैले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ ।

नवलपुरमा यो रोग भयावह बन्दै जान थालेपछि सरकारी सेवा समेत प्रभावित भएको छ भने अन्य दैनिकी गतिविधिहरू पनि कम हुँदै गएको छ । यो प्रकोप अझै १५ दिनसम्म रहने चिकित्सकहरू बताउँछन् ।


  • सम्बन्धित विषय:

  • # स्वास्थ्य संस्था
  • # आँखा पाक्ने रोग


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend