बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ ।
शिविरमा नसर्ने रोगको निः शुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवम् पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरणसमेत गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।
“यसपाली हामीहरु दूरदराजसम्म पुगेर नागरिकलाई सहज सेवा दिउँ भन्ने हिसाबले लागेका छौँ, घुम्ती शिविरमा जनप्रतिनिधि मात्रै हुनुहुन्न, त्यहाँ कर्मचारी, स्वास्थ्यकर्मी, पशु तथा कृषि प्राविधिक पनि हुनुहुन्छ, गाउँघरमा हुने समस्या सोही स्थानबाटै समाधान गरौँ भन्ने लागेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य दसैँअगावै योजना सम्झौता गरिसक्ने हो, समयमै सम्झौता भयो भने समयमै योजना कार्यान्वयन गर्न पनि सघाउ पुर्याउँछ, यसले गुणस्तरीय काममा पनि सघाउ पुग्नेछ ।”
वडा नम्बर १ पालादेखि सुरु गरिएको शिविर वडा नम्बर ८ लेखानीमा पुगेर सकिने उनको भनाइ छ । योजनाको प्रभावकारी कार्यान्वयन गराउने, पालिकाद्वारा हुने सेवा वडाबाटै उपलब्ध गराउने, सेवामा नागरिकको प्रभावकारी पहुँच बढाउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर गरिएको थापाले बताए ।
हालसम्म शिविरमा सात सय ६२ जनाको स्वास्थ्य परीक्षण, आठ सय ८४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, २१ जनालाई अपाङ्गता परिचयपत्र, दुई सय ७९ जनालाई आयुर्वेद सेवा, चार सय ९१ जनालाई कृषि तथा पशु सेवा र पाँच जनालाई रोजगार सेवा उपलब्ध गराइएको पालिकाले जनाएको छ ।