मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, वयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले श्ययाको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ । यसैबीच बढ्दो डेङ्गु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।
पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।