स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । ‘स्वस्थ नेपाल र निरोगी नेपाली’का लागि स्वास्थ्य मन्त्रालयले हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरु गरेको हो ।
निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आमनागरिकसँग समेत आग्रह गरेको हो ।
शुक्रबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय सरसफाइमा जुट्नुभयो । मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने लक्ष्य मन्त्रालयको छ ।
खोज र नष्ट विधि घरदेखि ठुला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ । यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र सामुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरूको सुझाव छ ।
समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरूको विश्वास छ ।