बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ ।
पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पताल, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकामा डेंगु र स्क्रवटाइफ देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले अस्पतालमा बिरामी बालबालिकाहरू आउने क्रम बढेको जनाउँदै ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताएका छन् ।
पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको जनाउँदै उनले उपचारका लागि आउने बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस पनि देखिएको बताए । उनले अझै पनि चार–पाँच जना डेंगु र स्क्रवटाइफसका बिरामीहरू उपचारार्थ रहेको जानकारी दिए ।
असहाय हुनेगरी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएपछि डेंगु भएको हुन सक्ने डा.कनोडियाले बताए ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो भने स्क्रबटाइफस भने मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन ।