नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्वारा संयुक्तरुपमा आयोजित नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा कांग्रेस र कम्युनिष्ट पार्टी एकढिक्का भएर लागेका इतिहास साक्षी रहेको उल्लेख गरेका छन् ।
उनले कांग्रेस र कम्युनिष्ट मिलेर काम गर्दा ऐतिहासिक जित हाँसिल भएका उदाहरणहरु रहेका जिकिर गरे। “मुलुकमा सङ्कट आउँदा दुवै पक्ष एकताबद्ध भएर मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन् । तर आवश्यकताअनुसमर कतिपय अवस्थामा कांग्रेस र एमाले प्रतिस्पर्धी पनि बनेका छन्”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले कुनै पनि राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै कांग्रेस र कम्युनिष्टबीच पनि अस्वस्थ प्रतिस्पर्धा नरहोस् भनेर सावधानी अपनाउने गरिएको धारणा राखे । उनले राजनीतिक पार्टी फरक-फरक भए पनि आधारभूत विषय देश भक्ति र मुलुकको पूर्वाधार विकास रहेको जिकिर गरे।