असोज ३० गते २०८३ || October 16, 2026

सवारी साधनको चाबी थुत्न नपाइने अदालतको आदेश


बिहीबार , माघ १० २०८११०:३५

सवारी साधनको चाबी थुत्न नपाइने अदालतको आदेश

सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुन विपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । 

व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेशमा भनेको छ । सडक बिचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो ।

 कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्य विरुद्ध रिट दायर भएको  थियो । विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैर कानुनी हो र तत्काल यसलाई रोक लगाउनु पर्छ भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका  थिए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४  प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान रहेको छ र दफा १६० मा दण्ड सजायको  प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ । 

सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनुले गरिमा  र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन  बाँच्ने अधिकारमा हानि पुर्‍याउने अवस्थाको सृजना गर्छ। अर्थात् यो कार्य स्वतः रूपमा नेपालको  संविधानको धारा १६ को विपरीत हुन्छ, जसले सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने अवस्थाको सृजना गर्छ।

यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जाने छ भन्दै कानुन अनुसार मात्र गर्न निर्देशनात्मक आदेश दिएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend