असोज ३० गते २०८३ || October 16, 2026

राजतन्त्रको पछाडी को ?


शुक्रबार, चैत १ २०८१०१:२६

राजतन्त्रको पछाडी को ?

गत फागुन २५ गते  एक महिनाको पोखराको बसाइलाई बिट मार्दै काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरिएको स्वागतले नेपालको राजनीति गर्माएको छ । हुन त पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा एक भिडियो सन्देश जारी गरी राजनीतिक दलहरू असफल भएको आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेसँगै राजावादीहरू निकै हौसिएका थिए भने गणतन्त्रवादीहरू अत्तालिएका थिए । पूर्वराजाको आह्वान पछि राप्रपा लगायत राजावादीहरूले उनको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरिएको स्वगतमामा पनि हजारौंको संख्यामा उपस्थित राजावादीहरूले पूर्वराजाको पक्षमा प्रदर्शन नै गरे, जुन सम्भवतः गणतन्त्र आएपछिकै ठूलो प्रदर्शन हो ।  गणतन्त्रवादीहरूलाई चेतावनी दिँदै देश बचाउने हो भने आफूलाई साथ दिन देशवासीसमक्ष पूर्वराजाले गरेको आह्वानले उनका समर्थक त हौसिए । तर त्यसका पछाडिको अन्तर्य के हो? स्वयं पूर्वराजा शाहले के आधारमा त्यसो भने ? उनका पछाडिको शक्ति के हो ? उनलाई कसको साथ हुन सक्छ ? यी र यस्तै प्रश्न अहिले गणतन्त्रवादीदेखि आम मानिसमा उब्जिएको छ । 

आन्तरिक वस्तु स्थितिलाई केलाउँदा राजतन्त्रको पुनरोदय हुने कुनै सम्भावना नै देखिँदैन । कुनै सम्भावना नभएरै आखिर पूर्वराजा के आधारमा सक्रिय छन् त? यसमा भने शंका गर्ने ठाउँ छ ।  २४० वर्षे राजतन्त्र अन्त्य भएको डेढ दशकपछि पूर्वराजा शाह नागार्जुनमा थन्किएका मात्रै छैनन् । पहिल्यैदेखि उनले आफूलाई ‘हिन्दुहरूको केन्द्र हुँ’ भन्ने सन्देश दिने गरी देश दौडाहा गर्दै बेलाबखत छिमेकी मुलुक समेत पुग्ने गरेका छन् । यसै बखत केही समयअघि गरिएको पूर्वराजाको भुटान भ्रमण निकै शंकाको घेरामा छ । स्रोतका अनुसार नेपालमा राजतन्त्र ब्युँताउने योजना कार्यान्वयन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षा छाता भित्र रहेको भुटानी राजालाई दिल्ली आमन्त्रण गरे । त्यसको केही दिनपछि भुटानी राजा नेपालको लुम्बिनीमा आफ्नो धार्मिक भ्रमणमा आएका बेला मोदीको सन्देश बोकेर आएका भुटानी राजाको नेपालका पूर्वराजा ज्ञानेन्द्र निकटसँग गोप्य भेटघाट भएको खुलेको छ ।  त्यति मात्रै होइन, भुटानी राजाले नेपालमा भेटघाट गरेपछि पूर्वराजा ज्ञानेन्द्र पनि भुटान गए । दिल्लीको योजना थाहा पाएका भुटानी राजाले ज्ञानेन्द्रलाई भुटानमा बहालवाला राजाकै हैसियतमा राजकीय सम्मानसमेत गरेको राजनीतिक वृत्तमा निकै चर्चा चलेको छ । भुटानी राजा र पूर्वराजा ज्ञानेन्द्रको बीचमा भुटानमा भएको भेटघाटपछि भुटानी राजा पुन दिल्ली गए । उनले भारतीय प्रधानमन्त्री मोदी सँगै सुरक्षा सल्लाहकार आजित डोभाल र योगी आदित्यनाथसँग पनि भेटघाट गरे । मोदीले योगी आदित्यनाथलाई नेपालको राजतन्त्र ब्युँताउन भूमिका खेल्न सम्भावित उच्च स्तरको कूटनीतिक जिम्मेवारी दिएपछि ज्ञानेन्द्रले दिल्लीमा गोप्य राजनीतिक भेटघाट गरेपछि नेपाल आएर पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गरेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।  राजावादीहरूको प्रदर्शनमा पनि योगी आदित्यनाथको तस्बिर देखिनुलाई पनि एक आधार मान्न सकिन्छ ।

यद्यपि जतिसुकै प्रयास गरेपनि अहिलेको अवस्थामा राजा फर्किने कुरा असम्भव रहेको राजनीतिशास्त्रीहरूको दाबी छ । नेपालमा राजतन्त्र पुनस्र्थापना सम्भव छ कि छैन भन्ने विषय राजनीति, जनमत, संविधान र अन्तर्राष्ट्रिय परिवेशमा निर्भर गर्छ । संविधानसभाले नेपाललाई औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो, जसअनुसार राजतन्त्र पुनस्र्थापनाका लागि संविधान संशोधन आवश्यक पर्छ । जुन अहिलेको संसदीय समीकरण हेर्दा सम्भव छैन । राजतन्त्र हटाउन मुख्य भूमिका खेलेका दलहरू नै अहिले सत्ता र शक्तिमा रहेकाले राजसंस्था पुनस्र्थापनाको मुद्दा कमजोर बन्ने निश्चित छ । पूर्वराजाको बाटोका प्रमुख तगारो गणतन्त्रवादी दलहरू हुन् । अन्य विषयमा मतभेद भए पनि राजतन्त्रको विपक्षमा उनीहरू एक ठाउँमा छन् । अर्को कुरा न पूर्वराजाको नाममा राजनीति गर्दै आएको राप्रपाको हैसियत ठूलो छ, न त लोकप्रियता नै बढ्दो । यस्तोमा वर्तमान परिस्थिति नियाल्दा नेपालमा राजा फर्काउन भइरहेको प्रयास सफल नहुने राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् ।

नेपालमा ज्ञानेन्द्र वा राजतन्त्र यस कारण पनि फर्कने सम्भावना देखिँदैन 
पहिलो सम्भावना– ८० वर्ष पुग्न लागेको मानिस फेरि राजा हुन्छ वा सत्तामा फर्कन्छ भन्नु कोरा कल्पना बाहेक केही होइन ।
दोस्रो सम्भावना– ज्ञानेन्द्र शाहको छोरा पारस शाह गतिलो भएको भए एउटा सम्भावना जीवित हुन्थ्यो कि ? त्यो च्याप्टर नै क्लोज, एउटा लफङ्गा मानिस राजा हुन्छ र राज्य चलाउँछ भनेर अनुमानै गर्न सकिँदैन।
तेस्रो सम्भावना– ज्ञानेन्द्रको नाति हृदेन्द्र शाह, जसलाई आम मानिसले चिन्दा पनि चिन्दैनन् । त्यस्तो पात्र के राजा होला ? के राजतन्त्र फर्काउला? त्यसैले राजा वा राजतन्त्र फर्कन्छ भन्नु भ्रम मात्रै हो ।
इतिहासको कुनै कालखण्डमा विश्वका धेरै देशहरूमा राजतन्त्र थियो । अहिले विश्वका ४३ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक त छन् । अधिकांश राजतन्त्र संवैधानिक राजतन्त्र, जहाँ राजाको संवैधानिक र आलांकारिक भूमिका छ तर देशको संविधानमा शून्य वा केही सीमित मात्र राजनैतिक अधिकार छ । 
अन्तमा राजतन्त्रको पुनस्र्थापनाका लागि हालको राजनीतिक परिप्रेक्ष्य र जनमतमा पर्याप्त आधार नदेखिएकोले यसको सम्भावना कम रहेको निचोड निकाल्न सकिन्छ । तर वर्तमान व्यवस्थाले ठिक समयमा जनताका  निराशा उपचार गरेन भने राजतन्त्रको पक्षमा भविष्यमा जनमत बढ्दै जाने देखिन्छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend