असोज ३० गते २०८३ || October 16, 2026

यौन व्यवसायले संसद् तात्यो ''कांग्रेस सांसदलाई आफ्नै बोली भारी''


सोमबार, चैत ४ २०८१०६:४३

यौन व्यवसायले संसद् तात्यो ''कांग्रेस सांसदलाई आफ्नै बोली भारी''

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले एउटा  रोचक विषय उठाए । उनले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भन्दै लामो व्याख्या नै गरे । मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो । उनले नेपाल एक सौन्दर्यताको देश हो जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा छ जहाँ ठुल–ठुला हिमशिखरहरु छन् जहाँ विश्व प्रख्यात पशुपतीनाथको मन्दिर छ । यस्ता अन्य थुप्रै ठाउँ छन् जसले पर्यटकलाई लोभ्याउन सकिन्छ । उनले यत्तिपनि ख्याल नगर्दा नेताहरु होस् गुमाएर मनलाग्दी बोल्छन् भन्ने कुरामा घिउ थपेको छ ।  एकपटक यो हेरौं उनले के भनेका थिए ।

अहिले उनको त्यही भनाई चौतार्फी आलोचनाको विषय बनेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक घिमिरेको उक्त धारणाको विरोध भएको छ । आइतबारको बैठकमा घिमिरेले ‘नेपालमा पनि यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने धारणा राखेकामा सोमबारको बैठकमा सांसदहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । सत्तापक्षकै महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सांसदले मुलुकको सामाजिक संरचना बिथोल्न खोजेको उनीहरूको आरोप थियो । बैठकको शून्य समयमा सांसदद्वय दुर्गा राई र दीपक सिंहले यौन व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै घिमिरेले राखेको धारणाको विरोध गरे । सांसद राईले कांग्रेस प्रमुख सचेतक घिमिरेको धारणा रेकर्डबाट हटाउन माग गरिन् । उनले सांसद घिमिरेलाई चेतावनी दिँदै भनिन्, ‘यौन व्यवसाय गर्न आफ्नो परिवारबाट अगाडि बढाउन आँट गर्न सक्नुहुन्छ ?’ 

सांसद सिंहले नेपाली समाजलाई तहसनहस बनाउने षडयन्त्र स्वरूप सत्तारुढ दलका जिम्मेवार सांसदबाट यस्ता धारणा आएको बताए । उनले नेपाल देश देवी पूजनको भूमि भएको भन्दै यस्ता उच्छृङ्खल अभिव्यक्ति नदिन समेत चेतावनी दिए

कांग्रेसका प्रभावशाली नेता मानिने घिमिरेले एकाएक यौन व्यवसायलाई कानुनी मान्यता दिएर पर्यटन व्यवसायलाई बढाउनुपर्छ भनेर आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरेका छन् । यस्तैगरी बोल्दै जाने हो र बोलिमा लगाम नलगाउने हो भने भविष्यमा यसको ठुलो मूल्य चुकाउनु पर्ने निश्चित छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend